महराको चिन्तापत्र(अस्तिसम्म दक्षिण एसियाकै धनी कम्युनिस्ट पार्टी थियो रे, अहिले ऋणमा चुर्लुम्मै भयो रे !)

एउटा अविश्वसनीय समाचार सुन्नमा आयो, एमाओवादी पार्टी आर्थिक रूपमा टाट पल्टियो रे ! अस्तिसम्म दक्षिण एसियाकै धनी कम्युनिस्ट पार्टी थियो रे, अहिले ऋणमा चुर्लुम्मै भयो रे ! नेता महराले पार्टीलाई पैसाले मात्रै होइन, विचार, अनुशासन, सामूहिकता, एकता इत्यादिको गरिबीले समेत टाट पारेको १२ बुँदे व्यर्थको चिन्तापत्र बैठकमा प्रस्तुत गरेछन्। त्यत्रो महान् क्रान्तिकारी पार्टीमा विचार र अनुशासन मात्रै होइन, पैसा पनि छैन भन्दा कसले पत्याउँछ ? पार्टीमा छैन होला, नेताहरूसँग त जति पनि छ नि, केको चिन्ता ! जसरी हामी नेपालीहरू 'धनी देशका गरबि जनता' भनेर मक्ख पर्छौं, महराजीहरूले पनि 'धनी नेताको गरबि पार्टी' भनेर गौरव गरे भैगो। फेरि, पार्टीले चाह्यो भने लाखौँ-करोडौँ रकम तत्क्षण चन्दा उठाउन सकिहाल्छ, व्यर्थै किन चिन्ता लिने !


नेताहरूले हेटौँडा महाधिवेशनको कार्यदिशा बुझ्न र आत्मसात् गर्न नसकेको कुरा पनि महराजीले चिन्तापत्रमा लेखेछन्। कार्यदिशा बुझेपछि बुझेकै दिशाबाट हिँड्नुपर्‍यो, नबुझेपछि जुन दिशा हिँडे पनि भो। यस्ता कुरा बुझ्नु भन्दा नबुझेकै राम्रो भएन त ?

पार्टीमा व्यक्ति हावी हुनुलाई पनि कमजोरीका रूपमा लिइएको रहेछ। पार्टीमा कमरेड प्रचण्ड हावी भएकैले त्यहाँ मानिसहरू ओइरिएका ओइरिएकै छन्। पार्टी झन् झन् ग्ल्यामरस र मोर्डन हुँदै गएको छ। प्रचण्ड हावी नभएका भए वैद्यजस्ता डेटएक्स्पायर्ड थोत्रे बूढाहरू अहिलेसम्म पार्टीमा बसेर किचकिच गररिहेका हुन्थे। यसबाट कहाँ नोक्सान भएको छ ?

अन्तबाट भतेर खान जन्त आएका नेताहरूलाई काम दिन नसकेकामा पनि महरा चिन्तित भएछन्। आयाराम गयारामहरू काम नपाएर आएका होइनन्। महराजी, तिनीहरूलाई खान दिनू, काम नदिनू। पार्टीले वामपन्थी र गैरवामपन्थी छुट्याउन नसकेको समस्या पनि महराले तेस्र्याएछन्। छुट्याउनै हुँदैन। खास वामपन्थी छनोट गर्न थाल्दा पार्टीमा केही हजार मात्रै मान्छे बाँकी रहलान्। त्यस कारण हुल जम्मा गरेर मूल पार्टी बन्ने जुन उद्योग चलिरहेको छ, त्यो बिलकुल सही छ।

पार्टी आत्मनिर्भर भएन भन्ने अर्को चिन्ता रहेछ। सबै नेता-कार्यकताहरू आत्मनिर्भर भइसकेकै छन्। पार्टी किन हुनुपर्‍यो आत्मनिर्भर ? राजनीतिक दलको काम खेतीपाती वा व्यापार व्यवसाय गरेर पैसा कमाउने पनि त होइन नि ! चन्दाबाट चलाउने हो, चलेकै छ।

पार्टीबाट सर्वहारा मूल्य स्खलित भएकामा महराजी व्यर्थै चिन्तित भएछन्। सबै दलहरूले सिद्धान्त, विचार, नैतिकता, स्खलन गरेर नै यतिको प्रगति गरेका हुन् भन्ने महराजीलाई थाहै छ। सर्वहारा मूल्य स्खलित नभएको भए तपाईंकै पार्टी सत्तामा पुग्ने थिएन। स्खलन हुन्छ र नै नयाँ सृष्टि हुन्छ। तपाईंहरू पनि पटक-पटक स्खलित हुँदै नयाँ-नयाँ रूपमा जन्म लिँदै आउनुभएको छ। सिद्धान्त, मूल्य, मान्यता नरहे पनि पार्टी बलियो हुनुपर्‍यो, चुनाव जित्नुपर्‍यो र जसरी पनि सत्तामा पुग्नुपर्‍यो। यो देशलाई सपार्नुपर्ने र पार्टीलाई स्वच्छ राख्ने जिम्मा तपाईंको मात्रै हो र ? कांग्रेस-एमाले हिँडेकै बाटोमा लागेपछि तिनीहरूभन्दा अझ क्रान्तिकारी रूपमा छिटोछिटो स्खलित हुनूस्। चिन्ता नगर्नूस्, पूर्ण गलित हुन्जेल स्खलित भइरहनूस्। श्री पशुपतिनाथले तपाईं सबैको कल्याण गर्नेछन्।


कान्तीपुर नेपाल बाट साभार