ऋषिराज बराल
नेपाली क्रान्तिप्रति गद्दारी गर्ने प्रचण्ड–बाबुराम गुटसित सम्बन्ध विच्छेद गरेको एक वर्ष भएको छ । अहिले पनि विसर्जनोन्मुख नवसंशोधनवादी सारमा नवप्रतिक्रियावादी गुट अनेक भ्रम फैलाइरहेको छ । भित्रभित्रै यो गुट कसरी वैचारिक र साङ्गठनिक रूपबाट नेकपा–माओवादीलाई
सिध्याउने भनेर लागेको छ भने बाहिरचाहिँ एकता र मित्रताको षड्यन्त्रकारी
भ्रम फिँजाइरहेको छ । अमुकलाई अमुक पद र अमुकलाई अमुक मन्त्रीको
पोर्टफोलियो वितरणको ठेककापट्टाकेन्द्र अहिले पेरिस डाँडा भएको छ ।
नवशंसोधनवादीहरू भारतीय विस्तारवादका सामु पूर्ण आत्मसमर्पण गरेर पैसा, पद र प्रलोभनका अनेक ढडिया थापेर बसेका छन् । सुनको बाला समातेको बाघप्रति लोभिएको लोभी बाहुनझैँ ‘शान्तिप्रक्रिया’ का सुखसुविधा अझै पनि झल्झली सम्झिरहनेहरू पेरिस डाँडाले वितरित गर्न थालेको कोटातिर आकर्षित नहोलान् भन्न सकिन्न । तर नेकपा–माओवादी क्रान्तिकारीहरूको पार्टी हो, यो महान् सहिदहरूको रगतको मूल्यप्रति प्रतिबद्ध पार्टी हो, यो
दुस्मनका कुनै पनि चाल र जालमा पस्तैन र फस्तैन भन्ने कुरा प्रस्ट छ ।
अपारदर्शी क्रियाकलाप अथवा कार्यकर्ताको आँखा छलेर दायाँवायाँ गर्ने
प्रवृत्तिका लागि नेकपा–माओवादीमा ठाउँ छैन । कार्यकर्ताले हरेक नेताका गतिविधिलाई गम्भीरताका साथ हेरेर खबरदारी गरिरहेका छन् । ‘गद्दारहरूसित एकता संभव छैन’ भनेर भर्खरै कमरेड किरणद्वारा प्रसारित वक्तव्यले क्रान्तिकारी कार्यकर्तामा नयाँ उत्साह थपिएको कुरा यहाँ स्मरणीय छ ।
देशभित्रका नयाँ–पुराना प्रतिक्रियावादीहरू मात्र नभएर साम्राज्यवादीहरू र विस्तारवादी शक्तिहरू पनि नेकपा–माओवादीलाई भरिसक्के वैचारिक रूपबाटै पतन गराउने, सहमतिका नाममा संसदवादको आहालमा डुबाउने, नभए दमन गर्ने अथवा टुट–फूट र विसर्जनको स्थितिमा पुर्याउने अनेक
षड्यन्त्रमा छन् । चुनावलाई पनि उनीहरूले यसैको एउटा कडी बनाउन खोजेका छन्
। प्रश्न हामी आफैँसित पनि गाँसिएको छ । उद्देश्यमा प्रस्ट र विचारप्रति
प्रतिबद्ध रहँदारहँदै पनि कतिपय सन्दर्भंमा हाम्रो चिन्तन र व्यवहारमा थुप्रै कमीकमजोरी देखिएको कुरा सत्य हो । विरोधीहरूलाई खेल्ने ठाउँ हामी आफैँले दिएका छौँ । खासगरेर सङ्गठन, कार्यदिशाको
कार्यान्वयन र कार्यशैलीका क्षेत्रमा हाम्रा सामु थुप्रै चुनौती र जटिलता
देखापरेका छन् । सङ्गठनात्मक क्षेत्रमा गरिनुपर्ने कामहरू गतिमा हुन सकेका छैनन् र महाधिवेशनको स्पिरिटबाट कतै हामी पछि हट्न थालेको त होइनौँ ? जस्ता
आशङ्काहरू उठ्न थालेका छन् । विचार र सङ्गठनका क्षेत्रमा
नवसंशोधनवादीहरूसित सम्बन्ध विच्छेद् गरे पनि लामो अवधिसम्म तिनीहरूसितको
सङ्गतले गर्दा त्यो विरासतबाट हामी मुक्त हुन नसकेको यथार्थलाई हामीले
आत्मसात गर्नैपर्ने हुन्छ । नयाँ पार्टीका रूपमा विचार, नेतृत्व, सङ्गठन र आन्दोलनका क्षेत्रमा आफ्नो परिचयलाई गुणात्मक रूपमा स्थापित गर्नैपर्ने हुन्छ ।
आमजनता, हाम्रा शुभचिन्तकहरू र कार्यकर्ता पङ्क्तिबाटसमेत हामीप्रति उठाउन थालिएका प्रश्नहरूको जवाफ, कुरा वा भाषणले होइन, वर्गसङ्घर्षलाई घनिभूत रूपमा अघि बढाएर मात्र दिन सकिन्छ । पार्टीले मार्क्सवाद–लेनिनवाद–माओवाद र नयाँ जनवादी क्रान्तिको पक्षमा आफूलाई दृढताका साथ उभ्याएको छ । सैद्धान्तिक तहमा क्रान्तिका ‘तीन जादुगरी हतियार’ प्रति पार्टी प्रस्ट छ तापनि यति मात्र पुग्दो छैन । हामी आफैँप्रति निर्मम भएर जान सक्ने हो कि होइन, प्रश्न यहाँनेरी छ । कार्यदिशा, सङ्गठन, नेतृत्वबीच
तालमेल मिल्नैपर्ने हुन्छ । कार्यकर्ताको विशाल पङ्क्तिलाई क्रान्तिकारी
उत्साह र आशाका साथ अघि बढ्ने वातावरणबिना नीति र योजना पारित गरेर मात्र
पनि केही हुने स्थिति छैन । देखिने गरी नै तल चाहिँ कुदन तयार भएको र माथिचाहिँ हिँड्न पनि तयार नभएको जस्तो स्थिति बोध हुने अवस्था आउनु हुँदैन ।
उमेरवाद
र अनुभववादसित जोडिएका समस्याहरूले पनि यदाकदा टाउको उठाउन थालेको बोध
हुन्छ । अनुभववादी जडता र उमेरवादी वितण्डा दुवै स्वीकार्य छैनन् ।
वस्तुस्थितिको विशिष्टताका नाममा अकर्मण्यतामा फस्ने र त्यसको विरोधमा अराजकतामा रमाउने कुरा सही होइनन् । दस्ताबेजमा उल्लेख भएझैँ आज अनुभववाद, व्यवहारवाद र उदारतावादका विरुद्ध मात्र
नभएर पार्टीभित्र बेलाबेलामा देखापर्ने गरेका विभिन्न किसिमका व्यक्तिवादी
अराजकतावादका विरुद्ध पनि सङ्घर्ष चलाउनु आवश्यक छ । अबको हाम्रो नीति, योजना र कार्यक्रमको मूल केन्द्र ‘चार तयारी’ हुनु आवश्यक छ ।
दुस्मनका
हरेक भ्रम र षड्यन्त्रलाई चिर्दै क्रान्तिकारी स्पिरिटका साथ एकताबद्ध भएर
अघि बढ्नु आजको आवश्यकता हो । हाम्रो पार्टीमा वर्गसङ्घर्षमा लामो अनुभव
भएको र खारिएको पाको नेतृत्व टिम छ र जनयुद्धका बीचबाट विकसित क्रान्तिकारी
उत्साहले भरिएको सशक्त युवा नेता तथा कार्यकर्ताहरूको जमात छ
। यो शक्ति पार्टीको महत्वपूर्ण सम्पति हो । यसलाई क्रान्तिकारी संयोजनका
साथ अघि बढाउनु आवश्यक छ । यसको सही किसिमले पार्टीमा व्यवस्थापन हुनु
जरुरी छ । माओले भन्नुभएझैँ नेतृत्वका सन्दर्भमा ‘एकमा तीन’ को नीति नै सही नीति हो । पार्टीमा गुटवाद, क्षेत्रीयतावाद, जातवाद÷जातीयतावाद, लिङ्गवाद र प्रभाववाद सबै त्याज्य छन् । पार्टीमा कार्यकर्ताको योग्यता र क्षमताअनुसार जिम्मेवारी पाउनु पर्दछ, नेतृत्वदेखि तलसम्म ‘सही मान्छे सही ठाउँ’ मा उभिएको हुनुपर्छ भनेर मार्क्सवादको क ख ग बुझेको सबैले जानेको कुरा हो । यसमा सहमति जनाउनु अथवा स्वीकार्नु भनेको यसको व्यवहारमा अनुभुति हुने स्थितिको निर्माण हो । यसको व्यावहारिक कार्यान्वयनमा थुप्रै समस्या देखिएको कुरा सही हो ।
क्रान्तिकारी विचार र कार्यदिशाको केन्द्रीयतामा एकताबद्ध
सुदृढ पार्टीको निर्माणतर्फ जाने कि अनुभववादी जडता र अकर्मण्यतामा
पार्टीलाई घुमाइरहने भन्ने कुरासित अहिलेका समस्याहरू जेलिएका छन् । ‘विशिष्ट स्थिति’, ‘सङ्क्रमणअवस्था’, ‘आफ्नै मौलिकता र विशिष्टता’, ‘हिजोभन्दा फरक किसिमले’, ‘क्रान्तिको बाटो घुमाउरो हुन्छ’ आदिआदिका नाममा हिजोका दिनमा यथास्थितिमै रुमलिएको इतिहासबाट शिक्षा लिने कि नलिने प्रश्न आजको जल्दोबल्दो प्रश्न हो । विशिष्टता, मौलिकता
र मोडेलका नाममा कतिपय क्रान्तिकारी पार्टीहरूले पतनको दिशा समातेको
ऐतिहासिक यथार्थबाट हामी अनभिज्ञ छैनौँ । यथास्थितिमा लामो समयसम्म पार्टी
रुमलिइरहनु भनेको विभिन्न किसिमका अवसरवादी प्रवृत्तिलाई विकसित हुने अवसर
प्रदान गर्नु हो । यसले अराजकतावाद र अकर्मण्यतालाई मात्र मलजल प्रदान गर्दछ । यो भनेको अन्ततः विसर्जन वा फूटतर्फ पार्टीलाई प्रवृत्त गराउनु हो । अधैर्यता र उत्ताउलोपानबाट जोगिनु आवश्यक छ, व्यक्तिवादी, महत्वाकाङ्क्षी र क्यारियरिस्ट प्रवृत्तिप्रति सचेत हुनु आवश्यक छ, तर त्यसका नाममा अनुभववादी जडता र अकर्मण्यतामा फसेर यथास्थितिवादको पक्षपोषण गर्नु भनेको नेपाली क्रान्तिलाई अर्को किसिमले धोका दिनु मात्र हो ।
रेग्मी सरकारले चुनाबको मितिको घोषणा गरिसकेको छ । यो समझदारी बिगार्ने कुरा मात्र होइन, यो भनेको मुठभेड, द्वन्द्व सारत: एक प्रकारले युद्धकै घोषणा हो । जुन अन्तर्राष्ट्रिय योजनाबद्धतामा आधारित भएर चुनाब गर्न थालिएको छ, यो सामान्य स्थिति होइन । यो सामान्य वा कोरा बहिष्कारले मात्र पुग्ने स्थिति होइन । यो एक किसिमको वर्गयुद्धकै प्रश्न हो
। यो भनेको चुनावी प्रक्रियालाई नै असफल अर्थात् ध्वस्त पार्नु पर्ने
स्थिति हो । २०५२ सालमा रोल्पाली जनताले रोमियो अप्रेसन भोगेका थिए, त्यो
एक हिसाबले महान् जनयुद्धको रिहर्सल थियो– प्रतिरोध र सङ्घर्ष । चुनावी
मुठभेडमा अब नयाँ किसिमका रिहर्सलहरू हुने कुरा निश्चित छ ।
‘पोलिटिक्स इन कमाण्ड’ मार्फत ‘चार तयारी’ लाई केन्द्रमा राखेर वर्गसङ्घर्षलाई नयाँ किसिमले गति दिएर मात्र यसको सामना गर्न सकिन्छ । यही नै मार्क्सवादी बाटो हो, महाधिवेशनले निर्देशित गरेको बाटो हो । माओले बारंबार भन्नुभएझैँ जनसेना नभएको जनतासित आफ्नो भन्ने केही हुँदैन । यस यथार्थलाई आत्मसात गरेर अघि बढ्नु नै अहिलेको आवश्यकता हो ।
source: www.thenextfront.com