ऋषिराज बराल
नेपाली क्रान्तिप्रति गद्दारी गर्ने प्रचण्ड–बाबुराम गुटसित सम्बन्ध विच्छेद गरेको एक वर्ष भएको छ । अहिले पनि विसर्जनोन्मुख नवसंशोधनवादी सारमा नवप्रतिक्रियावादी गुट अनेक भ्रम फैलाइरहेको छ । भित्रभित्रै यो गुट कसरी वैचारिक र साङ्गठनिक रूपबाट नेकपा–माओवादीलाई
सिध्याउने भनेर लागेको छ भने बाहिरचाहिँ एकता र मित्रताको षड्यन्त्रकारी
भ्रम फिँजाइरहेको छ । अमुकलाई अमुक पद र अमुकलाई अमुक मन्त्रीको
पोर्टफोलियो वितरणको ठेककापट्टाकेन्द्र अहिले पेरिस डाँडा भएको छ ।
नवशंसोधनवादीहरू भारतीय विस्तारवादका सामु पूर्ण आत्मसमर्पण गरेर पैसा, पद र प्रलोभनका अनेक ढडिया थापेर बसेका छन् । सुनको बाला समातेको बाघप्रति लोभिएको लोभी बाहुनझैँ ‘शान्तिप्रक्रिया’ का सुखसुविधा अझै पनि झल्झली सम्झिरहनेहरू पेरिस डाँडाले वितरित गर्न थालेको कोटातिर आकर्षित नहोलान् भन्न सकिन्न । तर नेकपा–माओवादी क्रान्तिकारीहरूको पार्टी हो, यो महान् सहिदहरूको रगतको मूल्यप्रति प्रतिबद्ध पार्टी हो, यो
दुस्मनका कुनै पनि चाल र जालमा पस्तैन र फस्तैन भन्ने कुरा प्रस्ट छ ।
अपारदर्शी क्रियाकलाप अथवा कार्यकर्ताको आँखा छलेर दायाँवायाँ गर्ने
प्रवृत्तिका लागि नेकपा–माओवादीमा ठाउँ छैन । कार्यकर्ताले हरेक नेताका गतिविधिलाई गम्भीरताका साथ हेरेर खबरदारी गरिरहेका छन् । ‘गद्दारहरूसित एकता संभव छैन’ भनेर भर्खरै कमरेड किरणद्वारा प्रसारित वक्तव्यले क्रान्तिकारी कार्यकर्तामा नयाँ उत्साह थपिएको कुरा यहाँ स्मरणीय छ ।