जनताले प्रचण्डलाई लखेटी-लखेटी कुटेर मार्छन्..

बा.१.ज ९२६८। आरुबारी-रत्नपार्क रुटमा चल्ने एउटा माइक्रोबसको नम्बर हो यो। जसका चालक हुन्, काभ्रे, सल्लेभुम्लुका खड्गबहादुर श्रेष्ठ। ०४७ सालदेखि जीविकाका लागि गाडी चलाउन थालेका उनी ०५५ सालदेखि माओवादी जनयुद्धमा सामेल भए। र, उपनामले चिनिन थाले, ‘शरण’ का रुपमा। त्यहाँ उनले सैन्य फाँटमा काम गर्दै २५ भन्दा बढी मोर्चामा आफूलाई उभ्याए । तीनवटा मोर्चामा घाइते भए । माओवादी शान्तिप्रक्रियामा आएपछि पहिला देव गुरुङसँग थिए। तर, अध्यक्ष प्रचण्डका लागि भरपर्दो सवारी चालकको आवश्यकता परेपछि ०६३ असोज अन्तिम साताबाट उनले प्रचण्ड सवार हुने गाडी चलाउन शुरु गरे। र, त्यहाँबाट ०६६ सालमा उनले मनभरि विरक्तिको पहाड बोकेर प्रचण्ड निवासलाई बाइबाइ गरे। उनी माओवादी लडाकुको तेस्रो डिभिजनअन्तर्गत थिए। तर, प्रमाणिकरणको प्रक्रियामा किरण पक्षधर लडाकुले त्यो प्रक्रियालाई नै अस्वीकार गरे। त्यसको अगुवाई शरणले नै गरे। एकीकृत माओवादीको वाइसिएल भनेजस्तो नेकपा-माओवादीसम्बद्ध युवा संगठन स्वयंसेवक व्युरोका उनी काभ्रे संयोजक हुन्। हिजोआज जीविकाका लागि माइक्रो चलाइरहेका छन्। माइक्रोको आफ्नो रुट र समय हुन्छ। जनआस्थाका विश्वमणि/यादव देवकोटासँग कुरा गर्ने भनेपछि उनले खानाको समय निकाले । तर, त्यतिले पनि पुगेन । अर्का सहयोगीलाई गाडीको साँचो जिम्मा लगाएर शरणले आफ्ना भएभरका विरक्ति पोखेका छन्।
० माइक्रो चलाउन थाल्नुभएछ !- हो, असारदेखि शुरु गरे।
आफ्नै कि भाडाको ?- साहुको।० पहिला गाडी चलाउँदा र अहिलेमा के फरक छ ?- पहिला सस्तोमा पेट्रोल/डिजल पाइन्थ्यो । अहिले गाह्रो छ ।
० माओवादीमा कसरी लाग्नुभयो ?- म गाडी नै चलाउाथे । ०५५ सालमा काठमाडौंमा प्रभात भन्ने साथी हुनुहुन्थ्यो । उहाँले नै युद्धमा जाऔं भन्नुभयो । मैले कम्तिमा ३२-३३ वटा लडाइमा प्रत्यक्ष सहभागिता जनाए। लडेकामध्ये चैनपुर भिडन्त स्मरणीय छ ।