चुनावविरोधी दलले आन्दोलन अझै चर्काउने

 सरकारले एकतर्फी रुपमा निर्वाचन घोषणा गरेको भन्दै आन्दोलनमा उत्रिएका ४२ दल तथा समूहले आन्दोलनका थप कार्यक्रम ल्याउने भएका छन् ।

नेकपा-माओवादी अध्यक्ष मोहन वैद्य नेतृत्वको ३३ दल, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादब नेतृत्वको ८ दलआवद्ध संघीय लोकतान्त्रिक मोर्चा र अशोक राई नेतृत्वको संघीय समाजवादीले सरकावरुद्ध आन्दोलनका थप कार्यक्रम ल्याउने भएका हुन् ।

माओवादी अध्यक्ष वैद्यले सरकारले निषेधको बाटो अपनाएकाले थप संघर्ष आवश्यक रहेको बताए । 'आन्दोलनरत दलसँग छलफल गरेर थप कार्यक्रम ल्याउने छौं,' उनले भने । आफ्नो पार्टी भने यथास्थितिमा निर्वाचन बहिस्कारकै अडानमा रहेको उनले बताए । बहिस्कारमात्र गर्नुहुन्छ कि बिथोल्ने नै कार्यक्रम छ ? भन्ने प्रश्नको उत्तरमा उनले भने, 'बहिश्कारसँगै संघर्षका कार्यक्रम जोडिने त भइहाल्यो ।'

आन्दोलनरत दलहरुले निर्वाचनविरुद्ध आइतबार गरेको बन्दको समीक्षा गर्दै सबै दलहरुसँग छलफल गरी थप कार्यक्रम ल्याउन लागेका छन् । उनीहरुले आन्दोलनमा रहेका राजनीतिक शक्तिसंग सहमति नगरि निर्वाचन घोषणा नगर्न चेतावनी दिएकै दिन सरकारले गत बिहीबार मंसीर ४ का लागि संविधानसभाको नयाँ निर्वाचनको तिथि घोषणा गरेको थियो । आफूहरुले उठाएका माग सम्वोधन नग निर्वाचन घोषणा गरिएको भन्दै उनीहरुले त्यसको विरोध गर्दै आएका छन् । माओवादी सचिव देव गुरुङका अनुसार आइतबार समूह-समूहमा बन्दको समीक्षा र भावी रणनीतिबारे छलफल भएको बताए । 'सोमबार सबै दल बसेर ठोस् कार्यक्रम ल्याउँछौं,' उनले भने ।